काठमाडौंमा सुरक्षाकालागि तयारी तीव्र, जिल्ला सुरक्षा समितिको आज साँझ बैठक

काठमाडौं । जेठ १५ गते काठमाडौंमा राजावादी समूह र नेकपा एमालेले फरक–फरक कार्यक्रम गर्ने भएपछि सुरक्षा रणनीति तय गर्न काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक आज साँझ ७ बजे बस्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। राजधानीमा एकैदिन दुई राजनीतिक धारका कार्यक्रमहरू आयोजना हुन लागेकाले सुरक्षाप्रति उच्च सतर्कता अपनाइएको छ।

यसअघि मंगलबार गृहमन्त्री रमेश लेखकको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। उक्त बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले जेठ १५ का कार्यक्रमलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए।

सुरक्षा सम्बन्धी संवेदनशीलता बढेकाले जिल्ला स्तरमा थप समन्वय र तयारीका लागि आजको बैठक महत्वपूर्ण हुने बताइएको छ।

तपाईको प्रतिक्रिया