काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको छ। उपकुलपति चयन र सिफारिस समितिले हालसम्म उपकुलपति सिफारिस नगरेको कारण संघले आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

यसअघि तीन दिनको अल्टिमेटम दिइएको थियो र सो समय सीमा समाप्त भएपछि संघले आन्दोलनको घोषणा गरेको हो। काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण दबाबका कार्यक्रमसँगै सात दिनको आन्दोलन घोषणा गरेका छन्।

सात दिनको अवधिमा पनि उपकुलपति चयन प्रक्रियामा कुनै निष्कर्ष नआएमा, संघले कुलपति, प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई तत्काल उचित निर्णयको लागि अनुरोध गर्नेछ। त्यसपछि पनि उपकुलपति नियुक्ति नभएमा अर्को चरणको दबाबमूलक आन्दोलनको तयारी गरिने जनाइएको छ।

हालसम्म उपकुलपति सिफारिसको नाम चयन गर्न सकिएको छैन। फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिने २० मध्ये १० जना सर्टलिस्टमा परेका थिए, जसको अन्तर्वार्ता र प्रस्तुतीकरण पनि भएको थियो। तथापि, नाम सिफारिस गर्न सकिएको छैन, र समितिका सदस्यहरू बीच नामको बारेमा असहमतिका कारण सिफारिस प्रक्रिया अघि बढ्न सकेको छैन।

तपाईको प्रतिक्रिया