काठमाडौँका १९ स्थानमा अब निःशुल्क वाइफाइ सेवा सञ्चालनमा

काठमाडौँ । राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थललगायत संवेदनशील र सार्वजनिक स्थानहरूमा यो सेवा विस्तार गरिएको हो।

सञ्चार मन्त्रालयका अनुसार यसअघि वाइफाइ सेवा उपलब्ध रहेका स्थानहरूमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ वाइफाइ जडान गरिएको हो।

मन्त्रालयका अनुसार अब नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान र क्षमता विस्तारसहित सेवा सञ्चालनमा आएको छ।

त्यसैगरी ठूलोभ¥याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता अभिवृद्धिको काम जारी छ भने भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा नयाँ वाइफाइ स्थापना भइरहेको छ।

मन्त्रालयका अनुसार सेवाको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाहरूले सेवा प्रदायक कम्पनीहरूसँग औपचारिक सम्झौता गरिसकेका छन्। यो परियोजनामा नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले सहकार्य गरेका छन्।

सञ्चारमन्त्री खरेलको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा राजधानीका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरेको हो।

प्राधिकरणका अनुसार यसअघि सेवा दिइँदै आएका वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा उपचार केन्द्र र पशुपति मन्दिर क्षेत्रमा इन्टरनेटको क्षमता बढाइएको छ।

यी स्थानमा वाइफाइको ब्यान्डविथ १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस गरिएको छ भने प्रत्येक डिभाइसको प्रयोग सीमा पनि १०० एमबीबाट ५०० एमबी पुर्‍याइएको छ।

नेपाल टेलिकमले निकट भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने योजना बनाएको छ।

भक्तपुर क्यान्सर अस्पतालमा छ वटा र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्ट जडान गरी नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

असोज ६ गते मन्त्री बनेका खरेलले पदभार ग्रहणपछि पहिलो निर्णयका रूपमा दुई महिनाभित्र राजधानीका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ सुविधा पुर्‍याउने घोषणा गरेका थिए। मन्त्रालयका अनुसार अब उपत्यका बाहिरका १० प्रमुख सहरहरूमा पनि यो सेवा विस्तार गर्ने तयारी भइरहेको छ।

निःशुल्क वाइफाइ सेवा सञ्चालनको अनुगमनका लागि मन्त्री खरेलको नेतृत्वमा टोलीले आज बिहानदेखि दिउँसोसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन विमानस्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ।

तपाईको प्रतिक्रिया