काउन्सिलले आम जनतालाई अनुभूति दिलाउनेगरी काम गरोस् : मन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपाललाई अधिकार सम्पन्न र स्वायत्त निकायका रूपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न सुझाव दिनुभएको छ।

प्रेस काउन्सिल नेपालले आज आयोजित मन्त्री खरेलको सम्मान कार्यक्रमका क्रममा उहाँले आगामी आमनिर्वाचनका बेला राजनीतिक दलहरूको गतिविधि बढेको समयमा काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गर्नुभयो।

मन्त्री खरेलले नागरिकस्तरबाट सञ्चालित व्यक्तिगत सामाजिक सञ्जाललाई राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिललाई गम्भीर हुनुपर्ने बताउनुभयो। साथै, मुलुकमा दर्ता भई काउन्सिलमा सूचीकृत सञ्चार माध्यमको जिम्मेवारी राज्यले लिनुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो।

प्रेस काउन्सिललाई आम सञ्चार माध्यमको न्यायालयको रूपमा स्थापित गर्नुपर्नेमा मन्त्री खरेलले जोड दिँदै भन्नुभयो, “विज्ञान र प्रविधिको विकाससँगै कानुनलाई समयसापेक्ष रूपमा परिवर्तन नगरेकाले अनेक चुनौतीहरू खडा भएका छन्। सामाजिक सञ्जालमा मिथ्या, गलत र घृणाजनक सूचनाका कारण एकअर्कालाई गालीगलौज, विवाद र आक्रमण गर्ने प्रवृत्तिले राज्यलाई चिन्तित तुल्याएको छ।”

सामाजिक सञ्जाल नियमनका लागि काउन्सिललाई सचेतनामूलक सन्देश दिने सामग्री प्रसारण गर्न सुझाव दिनुभएको उहाँले काउन्सिललाई आवश्यक जनशक्ति र उपकरणको मूल्यांकन गरी तत्काल कार्यदल गठन गरी काम अघि बढाउन पनि निर्देशन दिनुभयो।

आम निर्वाचनको तयारीका क्रममा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्नुपर्नेमा मन्त्री खरेलले जोड दिंदै भन्नुभयो, “प्रेस काउन्सिल स्वायत्त निकाय हो र यसमा मन्त्रालयले कुनै हस्तक्षेप गर्दैन। तर नीतिगत निर्णय र आवश्यक सहयोगका लागि मन्त्रालय तत्पर छ।”

कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले काउन्सिललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। काउन्सिलका सदस्य तथा कार्यक्रमका अध्यक्ष बालकृष्ण अधिकारीले प्राविधिक जनशक्ति र बजेट अभावका बाबजुद पनि काउन्सिलले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिनुभयो। यसअघि काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झबिन्द्र भुषालले काउन्सिलको समग्र अवस्था र कामकारबाही प्रस्तुत गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया