कांग्रेस र एमाले २०८४ को चुनावमा गठबन्धन गर्न चाहन्छन्, उनीहरू मिल्नेछन्: प्रचण्ड

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) ले २०८४ को संसदीय चुनावमा गठबन्धन गर्न चाहेको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “अहिले कांग्रेस र एमाले बीच गठबन्धन रहेको छ। उपनिर्वाचनमा पनि कांग्रेस र एमालेले गठबन्धन गरेका थिए। उनीहरू २०८४ को चुनावमा गठबन्धन गर्न चाहन्छन्, म चाहन्छु कि उनीहरू मिलून्।

माओवादी केन्द्रले २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेससहितका दलहरूसँग चुनावी तालमेल गरेर ३२ सिट जितेको थियो।

अध्यक्ष प्रचण्डले आगामी चुनावमा माओवादी एक्लै जान्ने योजना बनाएको पनि स्पष्ट पारे।

उनले भने, “हामी एक्लै चुनावमा जान्छौं। हामी जनताको शक्तिमा विश्वास गर्छौं। जनतालाई मेरो अपील छ—तपाईंहरू एकताबद्ध भएर आफ्नो तागत देखाउनुहोस्।”

अध्यक्ष प्रचण्डले आफू उत्पीडित वर्ग र समुदायको पक्षमा रहेको बताउँदै भने, “हामी उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौं। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो, अब हामी फेरि वर्गपक्षधरतामा फर्केर आन्दोलनको उठान गर्ने स्थितिमा छौं, र यसमा दृढतासाथ उभिनेछौं।”

तपाईको प्रतिक्रिया