पदाधिकारीबाट एक जनामात्रै समानुपातिक सिफारिस गर्ने कांग्रेसको निर्णय ?

काठमाडौं ।नेपाली कांग्रेसले पदाधिकारीतर्फबाट समानुपातिक सांसदको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम मात्र समेट्ने निर्णय गरेको छ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद उम्मेदवारहरूको सूची अन्तिम तयारीका साथ बुझाउने क्रममा आङ्देम्बेको नाम समावेश गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकको निर्णयबारे जानकारी दिएका छन्।

प्रवक्ता महतका अनुसार यसअघि समानुपातिक प्रणालीबाट सांसद भइसकेका व्यक्तिहरूलाई यसपटक सूचीमा समावेश नगरिएको छ। नयाँ अनुहारलाई अवसर दिने उद्देश्यका साथ सूची तयार गरिएको उनको भनाइ छ।

उनले पार्टीभित्र लामो समयदेखि सक्रिय रहे पनि अवसर नपाएका नेता–कार्यकर्तालाई प्राथमिकता दिइएको तथा केन्द्रीय समिति सदस्यहरू, बौद्धिक क्षेत्रका व्यक्तिहरू समेत सूचीमा समेटिएको जानकारी दिए।

पदाधिकारीतर्फबाट भने सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम मात्र सिफारिस गरिएको प्रवक्ता महतले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया