कांग्रेसमा मंसिरमै महाधिवेशन प्रक्रिया सुरू गर्न २४ केन्द्रीय सदस्यको आग्रह

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबरा सहित २४ जना केन्द्रीय सदस्यले आगामी प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यले पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै शुरू गर्न नेतृत्वलाई आग्रह गरेका छन्।

शुक्रबार उनीहरूले पार्टी केन्द्रीय कार्यालय पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका हुन्। जबराका अनुसार १५औं महाधिवेशन अघि बढाउनका लागि क्रियाशील सदस्यता नविकरण र नयाँ सदस्यता वितरण नै पहिलो महत्वपूर्ण चरण हो।

उनले पार्टीभित्र समूहगत रूपमा होइन, एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै परिवर्तनको मार्गबाट चुनावमा प्रवेश गर्नुपर्ने धारणा राखे। जबराले कांग्रेसले विशेष महाधिवेशन आवश्यक नभएको पनि स्पष्ट पारे।

पुसको अन्त्यसम्म विशेष महाधिवेशन सम्भव हुने समय रहे पनि नियमित महाधिवेशन प्रक्रिया भने मंसिरभित्रै सुरू गर्नुपर्ने उनको सुझाव छ। क्रियाशील सदस्यता नविकरणको स्पष्ट समयसीमा तोकी प्रक्रियालाई अघि बढाउनुपर्ने उनीहरूको माग हो। साथै, मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी सबै तहमा अधिवेशन सम्पन्न गर्न कार्ययोजना बनाउनुपर्ने उनीहरूको सुझाव छ।

वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै विधान संशोधनमार्फत युवाहरूको उल्लेखनीय सहभागिता सुनिश्चित गर्नुपर्ने जबराको माग छ। पार्टीको आन्तरिक निर्वाचन समिति अझै पूर्ण नहुँदा असन्तुष्टि जनाउँदै उनले समितिलाई तत्काल विस्तार र पूर्णता दिन आग्रह गरे।

आगामी महाधिवेशनमा युवा, महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, पिछडिएको वर्ग तथा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समानुपातिक समावेशिताका आधारमा युवा उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

त्यस्तै, संविधान संशोधनका सम्बन्धमा पार्टीभित्र वडास्तरदेखि केन्द्रीय तहसम्म गहिरो संवाद चलाई स्पष्ट धारणा निर्माण गर्नुपर्ने माग समेत उनले राखेका छन्।

तपाईको प्रतिक्रिया