कांग्रेसमा कार्यसमितिको म्याद एक वर्ष थप्ने तयारी

नेपाली कांग्रेसको बैठकमा पार्टीको कार्यसमितिको म्याद एक वर्ष थप गर्ने विषयमा छलफल भएको छ। शुक्रवार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा पार्टी अध्यक्ष शेरबहादुर देउवाले आफ्नो समूहका नेताहरूसँग आगामी कार्यविधि तय गर्ने विषयमा कुराकानी गरेका थिए। बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा.प्रकाशशरण महत र एनपी साउद सहभागी थिए।

बैठकमा पार्टीको आन्तरिक एकता र महाधिवेशनको बारेमा प्रमुख छलफल भएको बताइएको छ। प्रवक्ता डा. महतका अनुसार, कार्यसमितिको म्याद एक वर्ष थप्ने विषयमा पनि चर्चा भएको छ। उनले भने, “कांग्रेसको कार्यसमितिको म्याद सामान्यतया एक वर्ष थप गरिन्छ र अहिले महाधिवेशनको प्रक्रिया सुरु नभएपछि मंसिरमा हुने महाधिवेशनको सम्भावना कम देखिन्छ।”

पार्टीलाई एकजुट राख्दै महाधिवेशनको प्रक्रिया अगाडि बढाउने विषयमा पनि विचार विमर्श भएको महतले जानकारी दिए।

तपाईको प्रतिक्रिया