कलङ्की–नागढुङ्गा राजमार्गमा ‘स्मार्ट’ शौचालय सञ्चालन, स्नान र स्तनपान कक्षसहित सुविधा सम्पन्न

काठमाडौं। सार्वजनिक शौचालयमा आम रूपमा दिसा-पिसाब गर्ने ठाउँ मात्रै भन्ने बुझाइ रहेको भए पनि अहिले कलङ्की–नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक अत्याधुनिक ‘स्मार्ट’ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ। यस शौचालयमा अपाङ्गता भएका व्यक्तिका लागि सुविधा, स्नान कक्ष, स्तनपान कक्ष र स्यानिटरी प्याड तथा डाइपर फेर्ने व्यवस्था समेत गरिएको छ।

चन्द्रागिरि नगरपालिकाको सहकार्यमा करिब एक करोड रुपैयाँ लगानीमा बनेको यो शौचालय ‘एरोसान सस्टेनेबल स्यानिटेशन’ले सञ्चालन गर्नेछ। यसमा स्वचालित फ्लस, बत्ती, साबुन र धारा जस्ता स्वचालित उपकरणहरू राखिएका छन् जसले संक्रमणको जोखिम घटाउन मद्दत गर्नेछ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस्तै सुविधा नगरका अन्य तीन स्थानमा पनि विस्तार गरिने जानकारी दिएका छन्। वडाध्यक्ष घनश्याम लुइँटेलले सार्वजनिक स्थानमा शौचालयको सुविधा हुनु स्थानीय सरकारको दायित्व भएको बताए। उनले शौचालय वरिपरि हरियाली उद्यान निर्माण गर्ने योजना रहेको पनि जानकारी दिए।

शौचालयबाट निस्केका फोहोर पदार्थलाई बायोग्यास प्लान्टमार्फत व्यवस्थापन गर्ने र वर्षातको पानी सङ्कलन गर्ने योजना पनि छ। यो परियोजना ‘स्मार्ट’ सार्वजनिक शौचालयका प्रवर्तक स्व. प्रकाशचन्द्र अमात्यको अवधारणाअनुसार अघि बढाइएको हो।

यसअघि पनि ‘एरोसान सस्टेनेबल स्यानिटेशन’ले काठमाडौं र ललितपुर महानगरपालिकाका विभिन्न स्थानमा नौ वटा स्नानगृहसहित ‘स्मार्ट’ शौचालय सञ्चालनमा ल्याइसकेको छ।

तपाईको प्रतिक्रिया