करण केसीलाई एक खेल प्रतिबन्ध र म्याच शुल्क जरिवाना

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीमाथि एक खेलका लागि प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलिरहेका उनलाई उक्त कारबाही गरिएको हो।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत अम्पायरप्रति गरिएको अभिव्यक्तिलाई आधार बनाउँदै अनुशासनात्मक कदम चालेको जनाएको छ। शनिबार करणले ‘एक्स’ प्लेटफर्ममा खेलाडी र अम्पायरबीच सम्भावित विवादबारे टिप्पणी गरेका थिए, जसलाई संघले गम्भीर रूपमा लिएको हो।

उक्त घटनापछि क्यानले उनलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै सो खेलको सम्पूर्ण म्याच शुल्क जरिवाना स्वरूप तिर्नुपर्ने निर्णय गरेको छ।

जारी प्रतियोगितामा करण आबद्ध नेपाल पुलिस क्लब हाल तालिकाको तेस्रो स्थानमा रहेको छ। टोलीले हालसम्म सात खेल खेलेको छ, जसमा चार जित र दुई हार बेहोरेको छ भने एक खेल रद्द भएको थियो।

तपाईको प्रतिक्रिया