कम्युनिस्ट एकता अझ सुदृढ बनाउनु जरुरी:माधव नेपाल

फाइल तस्वीर

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी एकता गर्नु सजिलो भए पनि त्यसलाई स्थायी रूपमा बलियो बनाउनु निकै चुनौतीपूर्ण हुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता भीम रावल, प्रकाश शाह लगायत नयाँ पार्टीमा प्रवेश गरेका नेताहरूको उपस्थितिमा बोल्दै नेपालले २०७५ जेठ ३ गते दुई कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपा जनताको एकताको चाहनाको परिणाम भएको बताए।

उनका अनुसार २०७४ को आमनिर्वाचनमा जनताले दिएको करिब दुई तिहाइ मतले कम्युनिस्ट शक्तिहरू एउटै ठाउँमा बसून् भन्ने सन्देश दिएको थियो।

नेपालले पार्टीभित्र विगतमा भएका गल्ती र कमजोरीलाई आत्मसमीक्षा गर्दै सुधार्नुपर्ने आवश्यकता औंल्याए। उनले नयाँ पुस्तालाई क्रान्तिकारी आचरण र व्यवहारिक राजनीति अंगिकार गर्न आग्रह गर्दै भने,
“एकता त सजिलो हुन्छ, तर यसलाई बलियो बनाउन विचार, व्यवहार र प्रतिबद्धता आवश्यक पर्छ।”

उनले थपे, “हामीले विगतका कमजोरी सच्याएर नयाँ सोच र क्रान्तिकारी अनुशासन बोकेको पार्टी निर्माण गर्न सक्यौं भने त्यो जनताको वास्तविक आशा पूरा गर्ने बाटो हुनेछ। तर पुरानै गल्ती दोहोर्याइयो भने हाम्रो प्रयासको अर्थ हराउनेछ।”

तपाईको प्रतिक्रिया