ओली निवास गुण्डुमा एमाले सचिवालय बैठक सुरु, पार्टी पुनर्गठन र आन्दोलनबारे छलफल

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा आज पुनः सुरु भएको छ। यसअघि शुक्रबारबाट सुरु गरिएको बैठक ओलीको स्वास्थ्यमा देखिएको समस्या कारण आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

बैठकमा आगामी भदौ २३ र २४ गतेको आन्दोलनको कार्यक्रम, पार्टी पुनर्गठन, तथा संसद पुनःस्थापनासम्बन्धी प्रस्तावमाथि गम्भीर छलफल भइरहेको छ। शुक्रबारको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थामाथि धारणा राख्दै संसद पुनःस्थापनाको प्रस्ताव अघि सारेका थिए।

अध्यक्ष ओलीको उक्त प्रस्तावप्रति सचिवालय सदस्यहरूको मिश्रित प्रतिक्रिया देखिएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, साथै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार धारणा राखेका थिए।

बैठकमा उपाध्यक्ष त्रय पाण्डे, शाक्य र ज्ञवालीले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएका छन्। गुरू बराल, शंकर पोखरेल र प्रदीप ज्ञवाली बाहेकका अधिकांश सदस्यहरूले पार्टी पुनर्गठन आवश्यक भएको धारणा राखेका छन्।

संसद पुनःस्थापनाको प्रस्ताव भने पूर्णरूपमा समर्थन पाउन सकेको छैन। शंकर पोखरेल, रामबहादुर थापा बादल र प्रदीप ज्ञवाली मात्र यस प्रस्तावको बलियो पक्षमा देखिएका छन्। केही सदस्यले मध्यमार्गी प्रस्ताव पनि अघि सारेका छन्, भने धेरैले पार्टी पुनःगठन गरी चुनावको तयारीमा ध्यान दिनुपर्ने धारणा राखेका छन्।

आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, साथै सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल र लेखराज भट्टले धारणा राख्ने कार्यसूची रहेको छ।

तपाईको प्रतिक्रिया