एमाले राष्ट्रिय महाधिवेशन मङ्सिर मा २७–२९ हुने : विद्युतीय भोटिङ मार्फत केन्द्रीय कमिटी चयन हुने

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन (ई–भोटिङ) प्रयोग गर्ने भएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यसपटक पनि नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन विद्युतीय भोटिङ मेसिन अपनाउने निर्णय गरिएको हो। उनले बताए, “टेण्डर आव्हान भइसकेको छ र चाँडै नै कुन कम्पनीले भोटिङ प्रणाली सञ्चालन गर्ने निर्णय हुनेछ।”

एमालेले यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।

महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी सदस्य चयन गर्नेछ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधनपछि केन्द्रीय कमिटीको संख्या घटाइएको थियो।

महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने अनुमान छ। कार्यक्रम मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुनेछ भने बन्दसत्र भृकुटीमण्डपमा हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया