एमाले मोरङको निर्वाचन तालिका सार्वजनिक, मनोनयनको विवाद मिलेन

विराटनगर। नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। कोसी प्रदेशको राजधानी विराटनगरमा एमालेको दशौँ जिल्ला अधिवेशन भइरहेको छ। सोमबार निर्वाचन प्रक्रिया थाल्नको लागि कार्यतालिका सार्वजनिक गरिएको हो।

तालिका अनुसार, सोमबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। निर्वाचन मण्डलले आइतबार साँझ नै निर्वाचनसम्बन्धी तयारी सुरु गर्ने निर्णय गरेको थियो।

तर, मनोनीत ४६ जना प्रतिनिधिको नामावलीको बारेमा इतर समूहले विरोध जनाएका थिए। आइतबारको बन्दसत्रमा एकलौटी रूपमा प्रतिनिधि मनोनीत गरेको भन्दै इतर समूहले हलभित्रै नाराबाजी गरेको थियो, जसका कारण बन्दसत्र रोकिएको थियो।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले भने कि अब कार्यतालिका प्रभावित नगरी प्रक्रिया अघि बढाउने प्रयास रहने बताए। तर, कार्यतालिका प्रकाशित भएपछि इतर समूहका एक नेताले समस्या समाधान नगरी कार्यतालिका आएकोमा आफूहरूको सहमति नरहेको बताएका छन्।

सोमबार बिहान १० बजेपछि मनोनयन दर्ता गर्ने र दिउँसो २:४५ बजेदेखि ५ बजेसम्म नयाँ नेतृत्वको लागि मतदान गर्ने कार्यसूची छ। मतदान गणना भने एमाले जिल्ला कार्यालय पाञ्चनालीमा हुनेछ।

अधिवेशनबाट नेतृत्वमा जान संस्थापनबाट राजकुमार ओझा र इतर समूहका अजम्बर राई चुनावी मैदानमा उत्रिएका छन्। ओझा केपी ओली र राई विद्यादेवी भण्डारीसँग नजिकका मानिन्छन्।

संस्थापनबाट उपाध्यक्ष शान्ति भुजेल र सचिव रविन थापाको नाम प्रस्ताव गरिएको छ। यसैगरी, इतर समूहबाट उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव उषा झा र सन्तोष वान्तवालको नाम उठाइने तयारी छ। अधिवेशनबाट १६५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन हुनेछ, जसका लागि ९१४ जना प्रतिनिधिले मतदान गर्नेछन्।

तपाईको प्रतिक्रिया