एमालेले सदस्यता साढे सात लाख पुर्‍याउने लक्ष्य

काठमाडौं— नेकपा (एमाले) ले आगामी भदौमा हुने विधान महाधिवेशनसम्ममा पार्टी सदस्यता साढे सात लाख (७ लाख ५० हजार) पुर्‍याउने लक्ष्य लिएको छ।

पार्टीको संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार यस वर्षलाई एमालेले आन्तरिक जीवनको वर्ष घोषणा गरेकाले सदस्यता विस्तार र नवीकरणलाई प्राथमिकतामा राखिएको छ।

ढुंगेलले हाल पार्टी सदस्य संख्या करिब पाँच लाख ५० हजार रहेको जानकारी दिँदै भने, “आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार सदस्य बनाउने हाम्रो लक्ष्य हो, जुन कुल मतदाताको लगभग ६ प्रतिशत बराबर हो।”

एमालेले वैशाख महिनाभित्र नयाँ सदस्यता लिन र पुराना सदस्यताको नवीकरण गर्न निर्देशन दिइसकेको छ। जिल्ला कमिटीमार्फत सदस्यता विवरण प्रदेश कमिटीमा पठाइनेछ, र प्रदेशले जेठ पहिलो सातासम्म केन्द्रीय कार्यालयमा विवरण बुझाउने ढुंगेलले जानकारी दिए।

एमालेले विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना गर्ने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया