एमालेले संविधान संशोधनका नाममा कांग्रेसलाई समेत भ्रममा पार्यो : अग्नि सापकोटा

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री संसद विघटनको प्रयासमा रहेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सापकोटाले अध्यादेशको माध्यमबाट शासन सञ्चालन गर्ने कार्यले प्रधानमन्त्रीलाई संसद विघटन गरेर निर्वाचनमा जान प्रेरित गरेको टिप्पणी गरे।

उनले भने, “प्रधानमन्त्री केपी ओली संसद विघटन गरेर आफू बहुमत ल्याउने आशामा छन्।” उनले सरकारकै कारण २३ दिनसम्म संसद अवरुद्ध भएको जानकारी दिए।

सापकोटाले सरकारको अध्यादेशको प्रयोग असफल भएको र सरकार अहिले त्यसैको जालोमा फसिसकेको आरोप लगाए। उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउन चाहनेलाई सरकारले लखेटिरहेको बताएका छन्।

उपाध्यक्ष सापकोटाले संविधान संशोधनको नाममा कांग्रेसलाई समेत भ्रमित गरेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको दाबी गरे।

उनका अनुसार, वर्तमान सरकारसँग जनताको विश्वास पूर्णरूपमा गुमिसकेको छ। सापकोटाले प्रतिगमनको खतराबारे चेतावनी दिँदै संविधानको रक्षा गर्न माओवादीले फागुन १२ गते झापाबाट जनतासँग अभियान सुरु गर्ने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया