एमालेले ओली पक्राउको विषय संसदमा उठाउने तयारी

काठमाडौँ – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय आगामी प्रतिनिधि सभा बैठकमा उठाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले संसदमा यस मुद्दा उठाउने विषयमा सहमति जनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए। संघीय संसदको बैठक चैत १९ गतेका लागि बोलाइएको छ।

एमालेले पक्राउको विरोध सडकबाट पनि निरन्तर जारी राख्ने योजना बनाएको छ।

पार्टीका अनुसार, ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ कदम हो। एमालेले यसलाई पूर्वाग्रही राजनीतिक प्रतिशोधको रूपमा लिएको छ र कानुनी तथा राजनीतिक रूपमा यसविरुद्ध कडा रूपमा सामना गर्ने जनाएको छ।

सचिवालय बैठकले सरकारद्वारा शान्तिपूर्ण विरोध प्रदर्शनमा अत्यधिक बल प्रयोग गरिनु निन्दनीय भएको बताएको छ। विशेषगरी सुर्खेतको वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा नेता–कार्यकर्तामाथि गरिएको आक्रमण र काठमाडौंमा भएको लाठीचार्जको पनि निन्दा गरिएको छ। घाइते सबै नेता तथा कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

बैठकले सरकार गठनसँगै सुरु भएका धरपकड र दमनले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनमा गम्भीर खतरा उत्पन्न भएको निष्कर्ष निकालेको छ। महासचिव पोखरेलले भने, “सरकार जनादेश विपरीत मुठभेडतर्फ अघि बढ्न खोजिरहेको छ। यसले लोकतान्त्रिक प्रणालीका लागि नकारात्मक परिणाम ल्याउनेछ।”

एमालेले सरकारी दमनविरुद्ध एकजुट हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र संघ–संस्थालाई अपिल गरेको छ।

सचिवालय बैठकले आगामी वैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम, विचार गोष्ठी र अन्तरक्रियासहित भव्य रूपमा मनाउने निर्णय गरेको छ।

त्यसैगरी, भर्खर सम्पन्न प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्न, साथै पार्टी पंक्तिलाई सुव्यवस्थित गरी नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न नजिक भविष्यमा केन्द्रीय कमिटीको बैठक बोलाइने पनि जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया