एमएम कप एक दिवसीय क्रिकेट : एपीएफको बागमतीमाथि सहज जित

सुनसरी — सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले तेस्रो मनमोहन मेमोरियल (एमएम) एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो।

गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, विराटनगर बैजनाथपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशको प्रदर्शन कमजोर रह्यो। निर्धारित ५० ओभरको खेलमा बागमतीले १९.३ ओभरमै सबै विकेट गुमाउँदै मात्र ८० रन बनायो।

ओपनर आशुतोष घिरैया पहिलो ओभरमै शून्यमा बोल्ड आउट भए। त्यसपछि सुमन सुनार र उत्तम थापा पनि सस्तैमा पेवेलियन फर्किए। कप्तान रित गौतमले ३१ रन बनाउँदै केही सम्भावना देखाए पनि अन्य ब्याटरले साथ नदिएपछि टिम ठूलो स्कोर बनाउन असफल भयो।

एपीएफका लागि प्रकाश जैसीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए। अभिशेष गौतमले ३ विकेट र भोजराज भट्टले २ विकेट झारे।

८१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको एपीएफले ९.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य सहजै भेटायो। दीपक बोहरा नटआउट ४८ रन बनाएर जितको आधार बने भने कप्तान सुमित महर्जन १८ रनमा नटआउट रहे।

फाउण्डेसनका अध्यक्ष विप्लव घोषका अनुसार सोमबारको खेल नेपाली सेनाको टोली र बागमती प्रदेशबीच हुनेछ। प्रतियोगितामा एक भारतीय टोलीसहित जम्मा ६ टिम सहभागी छन्।

विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई २५ हजार र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया