एपीएफसँग न्यु डायमन्ड सोझो सेटमा पराजित

पोखरा — एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला र पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) ले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

पोखरा रंगशालामा भएको लिग चरणको खेलमा एपीएफले न्यु डायमन्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित गर्दै जित हात पारेको हो।

एपीएफकी निरुता ठगुन्ना ‘टाइगर अफ द म्याच’ घोषित भइन् भने, न्यु डायमन्डकी सलिना बुढामगर बेस्ट स्पाइकरको अवार्ड प्राप्त गरिन्। पहिलो चरणमा एपीएफ, न्यु डायमन्ड र आयोजक टोली विजेता समूहमा पर्न सफल भएका छन्।

अब महिलातर्फ पराजित समूहमा थाइल्यान्डको ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। पोखरामा जारी प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया