एनआरएनएलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र उद्देश्यमुखी बनाउँदै संस्थाको मूल लक्ष्यबाट विचलित नहुन आग्रह गरेका छन्।

बुधबार ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाभित्र देखिएको विवाद, अनुशासनहीनता र संकीर्ण प्रवृत्तिलाई अन्त्य गर्न आह्वान गरे। “आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा साझा संस्था जस्तो एनआरएनमा विवाद हुनु उचित होइन,” उनले भने।

उनले महाधिवेशनका नाममा हुने ‘हानाहान र ठोकाठोक’ले संस्था बदनाम हुने बताए। “व्यक्तिका लागि विधान फेरिँदैमा संस्था सञ्चालन हुँदैन,” भन्दै ओलीले विवेक, तर्क र मर्यादामा रहेर एनआरएनएलाई अघि बढाउन सुझाव दिए।

प्रधानमन्त्रीले एनआरएनएलाई नेपाली डायस्पोराका हकहितको प्रवर्द्धन, आपसी चिनजानको सञ्जाल विस्तार, नेपाली संस्कृति र परम्पराको निरन्तरताका साथै मातृभूमिप्रति योगदान गर्ने पवित्र उद्देश्यबाट विमुख नहुन आग्रह गरे। उनले संस्थामा दलीय राजनीति नगर्न र विभाजनको प्रयासलाई असफल पार्न समेत चेतावनी दिए।

ओलीले वर्तमान अध्यक्ष डा. बद्री केसीको कार्यकाल विधिसम्मत रहेको उल्लेख गर्दै, लोकतान्त्रिक प्रक्रिया अनुसार नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे।

गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा सुधारका लागि सुझावको आधारमा सरकार काम गर्न तयार रहेको उनको भनाइ थियो।

साथै, प्रधानमन्त्री ओलीले एनआरएनएलाई ठूला परियोजनामा मात्र नभई, स–साना रोजगारी सिर्जनामा समेत योगदान गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया