एक व्यक्तिको आकांक्षाले पार्टी कमजोर नहोस् : कर्णबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले कुनै एक व्यक्तिको आकांक्षाका कारण पार्टी कमजोर पार्न नहुने बताएका छन्। एमालेको ११औँ महाधिवेशन सुरु हुनुभन्दा एक दिनपहिले, शुक्रबार (मंसिर २६) काठमाडौंमा आयोजित ईश्वर पोखरेल समूहको युवा भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

थापाले पार्टीभित्र स्थापित शान्ति र अनुशासन भंग गर्ने प्रयास भए त्यसको प्रतिकूल परिणाम आउने चेतावनी दिएका छन्।
“हाम्रो शान्तिको लोटा फुटाउने प्रयास भयो भने त्यसले उल्टो असर पार्न सक्छ। विचारलाई बलपूर्वक दमन गर्ने प्रयास कसैले गरे हामी स्वीकार गर्न सक्दैनौँ,” उनले भने।

उनका अनुसार आफूहरूले एमालेभित्र विभिन्न चरण र भूमिकाहरू अनुभूत गरेका छन्। पार्टीलाई समयअनुसार सकारात्मक परिवर्तनतर्फ लैजानुपर्ने धारणा पनि उनले व्यक्त गरे।
“जनताको बहुदलीय जनवादको भावना अनुरूप पार्टी अगाडि बढोस् भन्ने हाम्रो चाहना हो,” थापाले भने, “पार्टीभित्र आधिकारिक वा अनाधिकारिक भन्ने अधिकार कसैसँग छैन।”

तपाईको प्रतिक्रिया