ट्रम्पद्वारा ब्राजीलमाथि ५० प्रतिशत ट्यारिफ घोषणा, ब्राजीलको प्रतिकारमा पनि ट्यारिफको चेतावनी

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि ब्राजीलबाट आयात हुने वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ (आयात शुल्क) लगाउने घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत सार्वजनिक गरेको पत्रमा ब्राजीलले अमेरिकी प्रविधि कम्पनीहरूमाथि हमला गरिरहेको आरोप लगाउँदै ट्यारिफ लागू गर्ने निर्णय लिएको उल्लेख गरिएको छ।

उनले ब्राजील सरकारमाथि पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध जासुसी गरेको आरोप पनि लगाएका छन्। बोल्सोनारोमाथि सन् २०२२ मा भएको आम निर्वाचनको नतिजा उल्ट्याउन खोजेको आरोपमा अहिले कानुनी प्रक्रिया चलिरहेको छ।

ट्रम्पको यो निर्णयपछि ब्राजीलका राष्ट्रपति लुईस लूला दा सिल्भाले प्रतिक्रिया दिँदै अमेरिकाले लगाएको ट्यारिफको प्रतिकारमा ब्राजीलले पनि अमेरिकामाथि समान प्रकृतिको ट्यारिफ लगाउने चेतावनी दिएका छन्।

ट्रम्पको यो घोषणाले अमेरिका–ब्राजील व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया