उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी सन्तोष खड्का

काठमाडौं ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतको सरुवा गरिएको छ। गृह मन्त्रालयको निर्णयअनुसार उनको स्थानमा एसएसपी सन्तोष खड्कालाई उक्त कार्यालयको नयाँ प्रमुखको जिम्मेवारी दिइएको छ।

नयाँ प्रमुख खड्का यसअघि नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत थिए। सरुवा भएसँगै उनले अब काठमाडौं उपत्यकाभित्रका गम्भीर तथा संगठित अपराधसम्बन्धी अनुसन्धानको नेतृत्व गर्नेछन्।

यसैगरी, एसएसपी बस्नेतलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ। उनी २०८१ साल माघदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखका रूपमा कार्यरत थिए।

प्रहरी संगठनमा सामान्यतया एक वर्षे कार्यकाल पूरा भएपछि सरुवा गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार एक वर्षे अवधि पूरा गरेपछि बस्नेतको सरुवा गरिएको जनाइएको छ। पछिल्लो समय उक्त कार्यालयमा एक वर्षे कार्यकाल पूरा गरेर सरुवा हुने अधिकारी बस्नेत मात्र रहेको उल्लेख गरिएको छ।

यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व सम्हालेका तत्कालीन एसएसपी मनोज केसी, सोमन्द्रसिंह राठौर तथा सानुराम भट्टराई भने एक वर्षको अवधि पूरा हुनुअघि नै सरुवा भएका थिए।

तपाईको प्रतिक्रिया