उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड विनियोजन

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका नदीहरूलाई स्वच्छ बनाउने र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको बताएका छन्।

शुक्रबार गोकर्णेश्वर–५ स्थित बागमती करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री सिंहले बागमतीसहित उपत्यकाका अन्य प्रमुख नदीहरू सफा गर्न मन्त्रालयमार्फत तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

‘बागमती, विष्णुमती, धोबीखोला जस्ता नदीहरूलाई ढलमुक्त बनाउने गरी काम अघि बढाइएको छ,’ मन्त्री सिंहले भने, ‘सरकारले नीति निर्माण गर्छ, तर रुख जोगाउने र नदीमा फोहोर नहाल्ने जिम्मेवारी स्थानीय समुदायको पनि हो।’

उनले वातावरण संरक्षण सबैको साझा दायित्व भएको भन्दै स्थानीय तह, समुदाय र नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।

सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालले नगरभित्र रु. ४० करोडभन्दा बढीको योजना सहरी विकास मन्त्रालयमार्फत प्राप्त भएको जानकारी दिँदै उपप्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेले पनि वर्तमान बजेटले उपत्यकाका पूर्वाधार र वातावरण सुधारसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएको बताए।

तपाईको प्रतिक्रिया