उदयपुरमा यौनधन्दामा संलग्न १३ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता


उदयपुर ।उदयपुरमा यौनधन्दा सञ्चालन तथा संलग्न रहेको अभियोगमा १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार प्रारम्भिक अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो।

गएको वैशाख १६ गते दुई पीडित बालिकाका अभिभावकले जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। उजुरीमा गाईघाट क्षेत्रका दुई नाबालिका बालिकालाई होटलमा लगेर जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराइएको उल्लेख गरिएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार त्रियुगा नगरपालिका–११ स्थित पिपलचोकमा डेरा गरी बस्ने झापा कन्काई नगरपालिका–४ का २० वर्षीय विक्रम तामाङ उर्फ विक्रम रणपहेली, सोही ठाउँकी १९ वर्षीया पूर्णिमा राई, सप्तरी हनुमाननगर कंकाली नगरपालिका–४ का २५ वर्षीय कुन्दन दास, त्रियुगा–११ का मकालु होटल सञ्चालक ललित भण्डारी र त्रियुगा–१० की भ्यु प्वाइन्ट होटल सञ्चालिका २९ वर्षीया सम्झना मगरसहित तीन बालक र पाँच बालिका गरी १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

उनीहरूलाई त्रियुगा नगरपालिका–११ मा रहेको मकालु होटल र भ्यु प्वाइन्ट होटलका कोठामा बालिकाहरूलाई अपरिचित पुरुषहरूसँग यौन सम्पर्क गराई मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर अपराधमा संलग्न गराएको आरोप छ।

प्रहरीले उनीहरूलाई वैशाख महिनामै पक्राउ गरी आवश्यक अनुसन्धानपछि मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया