उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, राजनीतिक दल र निजी क्षेत्रका प्रतिनिधि चाँडै मनोनयन गरिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भएको छ।

बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण तथा आगामी प्राथमिकताका कार्यसूचीहरूबारे प्रारम्भिक छलफल गरिएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगमा राजनीतिक दल, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन चाँडै गरिने र आगामी सातादेखि दोस्रो पूर्ण बैठक बस्ने निर्णय समेत गरिएको छ।

यसअघि, गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको थियो।

बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्तालगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रणालीमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले उक्त आयोग गठन गरेको हो।

तपाईको प्रतिक्रिया