इलाम र बागलुङमा पहिरोले सडक अवरुद्ध, यातायात प्रभावित

इलाम । केचना–कञ्चनजङ्घा सडक इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गएराति खसेको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने मार्ग पनि बन्द भएको छ। यसले लामो दूरीका सवारीसाधनलाई मेची राजमार्गबाट आवतजावत गर्न बाध्य बनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीय जनताको सक्रियतामा पहिरो पन्छाउने कार्य जारी छ।

त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। चट्टानसहितको भीषण पहिरोले बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिमतर्फ र त्यहीं बाटो हुँदै उत्तर मुस्ताङसम्मका सबै सवारी साधन रोकिएका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गङ्गाराम विकले निरन्तर पहिरो झरिरहेकाले सडक खोल्न कठिन भइरहेको जानकारी दिनुभयो। भैरहवाबाट मालसामान बोकेको ट्रकहरू समेत कालाखोलामा रोकिएका छन्।

तपाईको प्रतिक्रिया