इरानको मिसाइल आक्रमण इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा, २२० बढीको मृत्यु

काठमाडौं — इरानले इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा मिसाइल आक्रमण गरेको छ। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स का अनुसार, उत्तरी इजरायलको हाइफा बे क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा गएराति मिसाइल प्रहार भएको हो, जसपश्चात ठूलो आगलागी भएको पुष्टि गरिएको छ।

आगोलागीका कारण सो क्षेत्रमा मानिसहरू अड्किएको र बिहान ढिलासम्म इजरायली आपतकालीन सेवा टोली उद्धार तथा आगो नियन्त्रणमा खटिएको न्युयोर्क टाइम्स ले उल्लेख गरेको छ। घटनासँग सम्बन्धित तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसको सत्यता सो पत्रिकाले पुष्टि गरिसकेको जनाएको छ।

इजरायल–इरान तनाव पछिल्ला दिनमा चरम उत्कर्षमा पुगेको छ। चार दिनदेखि दुवै मुलुक एकअर्कामाथि व्यापक सैन्य आक्रमण गरिरहेका छन्। न्युयोर्क टाइम्स का अनुसार, गएराति मात्रै इजरायलले इरानका ८० भन्दा बढी स्थानमा आक्रमण गरेको छ, जसमा २० जना उच्चपदस्थ सैन्य अधिकारी, आणविक वैज्ञानिकसहित २२० जनाभन्दा बढीको ज्यान गएको तथा १,२०० भन्दा बढी घाइते भएको जनाइएको छ।

त्यस्तै, इरानी मिसाइल आक्रमणबाट इजरायलको तेल अभिभ, बातयामलगायतका शहरमा व्यापक क्षति पुगेको छ। इजरायली आपतकालीन सेवा मगेन डेविद एडम (MDA) ले चार स्थानमा आक्रमण भएको पुष्टि गर्दै, हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको जानकारी दिएको छ।

बातयाम सहरमा ६० भन्दा बढी भवनहरू आंशिक वा पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ।

इरानको आक्रमणको जवाफमा इजरायली सेनाले इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुर्द्स फोर्स कमान्ड सेन्टरलाई लक्ष्य गरेर तेहरानमा हमला गरेको जनाएको छ। सो सेन्टरमा पनि क्षति पुगेको जानकारी दिइएको छ।

मध्यपूर्व र युरोपका विभिन्न देशहरूले दुबै पक्षलाई तत्काल आक्रमण रोक्न आग्रह गरेका छन्। विश्लेषकहरूका अनुसार यदि आक्रमण यथावत् रहिरह्यो भने यसले क्षेत्रीय अस्थिरता बढाउने मात्र होइन, अन्य देशहरूको संलग्नता समेत निम्त्याउन सक्ने खतरा छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियारसम्बन्धी वार्तामा सहभागी हुन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया