इरानका नयाँ सेना कमान्डर सादमानी मारिएको इजरायलको दाबी


काठमाडौं । इजरायलले इरानका नवनियुक्त शीर्ष सैन्य कमान्डर अली सादमानीलाई लक्षित आक्रमणमा मारेको दाबी गरेको छ। सादमानी केही दिनअघि मात्रै इरानी कमान्डर गोलाम अली रसिदको स्थानमा नियुक्त भएका थिए।

सीएनएनका अनुसार इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले जारी गरेको विज्ञप्तिमा इजरायली वायुसेनाले (आईएएफ) तेहरानको केन्द्रमा रहेको एक सैन्य कमान्ड सेन्टरमा गुप्त सूचनाका आधारमा हमला गरेको उल्लेख छ। उक्त हमलामा सादमानी मारिएको इजरायलको दाबी छ।

हालसम्म इरानले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसअघि भएको आक्रमणमा इजरायलले लेफ्टिनेन्ट जनरल गोलाम अली रसिदसहित इरानका अन्य उच्च पदस्थ कमान्डरहरू मारिएको दाबी गरेको थियो। रसिदको मृत्युपछि सादमानीले खातम अल–अन्बिया नामक केन्द्रिय सैन्य कमान्डको नेतृत्व सम्हालेका थिए।

खातम अल–अन्बिया कमान्ड इरानको नियमित सेना र क्रान्तिकारी गार्डबीच समन्वय गर्ने मुख्य निकाय हो।

आईडीएफको भनाइ अनुसार सादमानीले विगतमा विभिन्न भूमिकामार्फत इजरायलविरुद्धका रणनीतिमा प्रत्यक्ष संलग्नता देखाएका थिए।

तपाईको प्रतिक्रिया