इतिहासबाट पाठ सिक्दै एकताको बाटोमा अघि बढ्न जेनजीलाई मन्त्री पुनको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको राजनीति र समाजमा बढ्दो गुटबन्दी तथा खिचातानीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले विशेषतः जेनजी (Gen Z) पुस्तालाई इतिहासबाट शिक्षा लिएर राष्ट्रिय एकताको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।

फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा मन्त्री पुनले गुटबन्दी र खुट्टा तान्ने प्रवृत्तिले राष्ट्रिय हितमा गम्भीर क्षति पु‍र्याउने चेतावनी दिएका छन्। उनले लेखेका छन्, “राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन, झन् धेरै नोक्सान हुन्छ। अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौमसत्ताको रक्षाका लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध छ।”

मन्त्री पुनले नेपाली इतिहासका विभिन्न कालखण्डहरू स्मरण गराउँदै गुटबन्दी र आपसी द्वन्द्वकै कारण देश बारम्बार अस्थिरता र विदेशी हस्तक्षेपको शिकार भएको उल्लेख गरेका छन्। शाहकाल, राणाशासन, प्रजातान्त्रिक अभ्यासदेखि पञ्चायत र हालको लोकतान्त्रिक अभ्याससम्म राजनीतिक शक्तिहरूले गुटबन्दी र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन्।

उनका अनुसार, दलहरूबीचको विश्वासको अभाव र सत्ताकै खेलमा अल्झिएको राजनीतिले देश विकासभन्दा बढी जनतालाई निराश बनाएको छ। यही निराशाले अहिलेको जेनजी आन्दोलन विस्फोटको रूपमा देखा परेको उनको भनाइ छ।

जेनजी पुस्तालाई सन्देश दिँदै उनले भनेका छन्, “तिमीहरू देश परिवर्तन गर्न चाहन्छौ, भ्रष्टाचार अन्त्य गर्न चाहन्छौ, सुशासन ल्याउन चाहन्छौ, तर यो सपना त्यतिबेला मात्रै पूरा हुन्छ जब तिमीहरूबीच एकता हुन्छ। गुटबन्दी र खुट्टा तानातान सुरु भयो भने विगतजस्तै असफलता मात्र हात लाग्नेछ।”

सन्देशको अन्त्यमा उनले राष्ट्रिय अस्तित्व र स्वाभिमानको रक्षाका लागि सबै नेपालीबीच सहकार्य र एकता अपरिहार्य रहेको उल्लेख गरेका छन्। उनले जोड दिएका छन्, “नेपालको इतिहासले सिकाएको छ, गुटबन्दीले कहिल्यै देशलाई फाइदा दिएको छैन। अब त्यो गल्ती दोहोर्याउने समय छैन।”

तपाईको प्रतिक्रिया