इजरायली सेनाको पुष्टि: हमासद्वारा अपहरणमा परेका नेपाली विपीन जोशी जीवित छैनन्

काठमाडौं, — हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपीन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायली सेनाले भिडियो कन्फ्रेन्समार्फत इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई यो जानकारी दिएको हो।

राजदूत पण्डितका अनुसार, “इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी दिएको छ। तर, उहाँको शव फेला परेको वा नरहेको यकिन छैन।”

इजरायली पक्षले हमासको कब्जामा रहेका केही जीवित बन्धकहरूलाई आगामी दुई–तीन घण्टाभित्र रिहा गरिने बताएको छ। साथै, आज बेलुकीसम्म केही मृतकका शवहरू हमासले हस्तान्तरण गर्ने जानकारी पनि प्राप्त भएको छ।

अन्य शवहरूको खोजीका लागि संयुक्त टास्क फोर्स खटिने तयारीमा रहेको राजदूत पण्डितले बताएका छन्।

विपीन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत रोजगारीका लागि इजरायल गएका थिए। उनी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा बन्धकमा परेका थिए।

तपाईको प्रतिक्रिया