इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरियो

इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएको छ। गएराति लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तानसँग ८ रनको पराजय भोग्दै इंग्ल्याण्ड अन्तिम खेल अघि नै समूह चरणबाट बाहिरिएको हो।

यसअघि इंग्ल्याण्डले पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो, जसमा ३५२ रनको लक्ष्य पछ्याइरहँदा पनि इंग्ल्याण्ड पराजित भएको थियो।

गएराति अफगानिस्तानले इंग्ल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको थियो, जसको जवाफमा इंग्ल्याण्ड ३१७ रनमा अलआउट भयो, एक बल बाँकी रहँदा सबै विकेट गुमाएको थियो। इंग्ल्याण्डका जोय रूटले १२० रनको शानदर इनिङ खेले, १११ बलमा ११ चौका र १ छक्का हान्दै।

बेन डकेट र कप्तान जोस बट्लरले ३८ रन बनाए, जेमी ओभरटले ३२ र ह्यारी ब्रुकले २४ रन जोडे। बलिङतर्फ अफगानिस्तानका अजमतउल्लाह ओमरजईले ५ विकेट लिए, जबकि मोहम्मद नाबीले २ र फजलहक फारूकी, रसिद खान र गुलबदिन नइबले १/१ विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाउँदै ३२५ रन बनाएको थियो। अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १७७ रन बनाएका थिए, जसमा १४६ बलमा १२ चौका र ६ छक्का समावेश थिए। अजमतउल्लाह ओमरजईले ४१ रन बनाएका थिए, जबकि कप्तान हशमतउल्लाह शाहिदी र मोहम्मद नाबीले ४०/४० रन जोडे।

इंग्ल्याण्डले अब आफ्नो अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ, र अफगानिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा र अस्ट्रेलिया दोस्रो स्थानमा छ, दुवैको नाममा तीन अंक छ। अफगानिस्तान २ अंकसहित तेस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया