आर्सनलविरुद्ध पीएसजीको १-० को जित, डेम्बेले बने निर्णायक

काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १–० ले हराउँदै जित निकालेको छ। मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न खेलमा पीएसजीले महत्वपूर्ण जित हात पारेको हो।

पीएसजीलाई जित दिलाउन फ्रान्सका विंगर ओस्मान डेम्बेलेले गरेको गोल निर्णायक बन्यो। डेम्बेलेले खेलको चौथो मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रतामा पुर्याएका थिए। त्यसपछि थप गोल नहुँदा पीएसजीले १–० को जित सुनिश्चित गर्‍यो।

खेलभरि दुवै टोलीले गोलका अवसरहरू सिर्जना गरे पनि त्यसको सदुपयोग गर्न सकेनन्। खेलको ४७औं मिनेटमा आर्सनलका माइकल मेरिनोले गोल गरे पनि भिडियो असिस्टेन रेफ्री (VAR)ले त्यो गोल अस्वीकृत गरिदिएको थियो।

अब यी दुई टोलीबीचको दोस्रो लेग मे ८ मा पीएसजीको मैदानमा खेलिनेछ। जित निकाल्ने टोली च्याम्पियन्स लिगको उपाधिका लागि बार्सिलोना र इन्टर मिलानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया