आयात कर घटाउने विषयमा अमेरिका–बेलायत व्यापार सम्झौताको तयारी

काठमाडौँ — अमेरिका र बेलायतबीच आयात कर घटाउने विषयमा सहमति जुट्दै गएको संकेत देखिएको छ। बीबीसीका अनुसार दुवै देशले आज नै आयात कर घटाउने सन्दर्भमा व्यापार सम्झौताको घोषणा गर्ने अपेक्षा गरिएको छ।

बेलायती सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा आयात कर बढाएपछि यस्तो सम्झौताका लागि पहल गर्दै आएको थियो। ट्रम्पले बुधबार राति सामाजिक सञ्जालमार्फत ह्वाइट हाउसमा हुन लागेको पत्रकार सम्मेलनबारे जानकारी दिँदै एउटा “ठूलो र सम्मानित देश” सँग व्यापारसम्बन्धी सम्झौता घोषणा गरिने संकेत दिएका थिए।

“भोलि बिहान १० बजे ओभल अफिसमा पत्रकार सम्मेलन हुनेछ,” ट्रम्पले लेखेका छन्, “यो एउटा महत्वपूर्ण व्यापार सम्झौता हो, जुन अब आउने धेरै सम्झौतमध्ये पहिलो हुनेछ।”

यद्यपि ट्रम्पले ‘आयात कर’ भन्ने शब्द प्रयोग नगरेको भए पनि बीबीसीको विश्लेषणमा यो सम्झौता केही विशेष वस्तुहरूमा लाग्ने आयात कर घटाउने विषयमा सीमित हुने उल्लेख गरिएको छ।

बेलायती पक्षले विशेष गरी इस्पात र कारमा लाग्ने कर घटाउन चाहेको बताइएको छ भने अमेरिकी पक्षले फार्मास्युटिकल र प्रविधि क्षेत्रका उत्पादनमा व्यापारिक लाभ खोजेको जनाइएको छ।

तपाईको प्रतिक्रिया