आन्दोलन उक्साउनेदेखि आगजनी गर्ने सबैलाई कारबाही गर्नुपर्ने: साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सिंहदरबारमा आगजनी गर्ने व्यक्तिमाथि अनिवार्य रूपमा कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुनै पनि प्रकारको अपराधमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने धारणा व्यक्त गरे। उनले समान प्रकृतिका घटनामा फरक–फरक व्यवहार हुन नहुने भन्दै कानुन सबैका लागि बराबर लागू हुनुपर्नेमा जोड दिए।

साम्पाङले सिंहदरबारलाई देशको सार्वभौमसत्तासँग जोडिएको महत्वपूर्ण संरचना भएको उल्लेख गर्दै त्यहाँ भएको क्षतिलाई सामान्य रूपमा लिन नहुने बताए। साथै, घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार कठघरामा ल्याउनुपर्ने उनको माग छ।

उनले हालै भएका केही राजनीतिक व्यक्तित्वहरूको पक्राउप्रति आफूले विरोध नगरेको स्पष्ट पार्दै कारबाही एकपक्षीय हुन नहुने बताए। आन्दोलनका क्रममा उक्साउने वा भड्काउने भूमिकामा रहनेहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया