आजदेखि पुटिनको भारत भ्रमण

काठमाडौं — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज (डिसेम्बर ४) दुई दिवसीय भ्रमणका लागि भारत जाँदै छन्। उनी भारत–रुसबीचको २३औं वार्षिक शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

भ्रमणका क्रममा रक्षा, व्यापार, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रका विषयमा सम्झौतामा छलफल हुने अपेक्षा गरिएको छ। रुसी प्रवक्ता दिमित्री पेस्कोवका अनुसार, पुटिनले भारतसँगको द्विपक्षीय व्यापार विस्तार र एस–४०० मिसाइल प्रणाली तथा एसयू–५७ लडाकु विमानको आपूर्ति प्राथमिकतामा राख्नेछन्।

भारत–रुस व्यापार वर्तमानमा करिब ७० अर्ब डलरको छ। दुबै देशले द्विपक्षीय व्यापार १०० अर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन्। भारतले औषधि, कृषि र वस्त्र निर्यातमा वृद्धि चाहन्छ भने, रुसले भारतबाट आयात बढाउने संकेत दिएको छ। यस क्रममा एस्बर बैंकले भारतबाट औद्योगिक सामग्री र श्रमिक स्थानान्तरणलाई प्रोत्साहित गर्ने काम गरिरहेको छ।

सामरिक क्षेत्रमा भारत–रुसको लामो इतिहास छ। भारतले दशकोंदेखि रुसबाट सैन्य उपकरण खरिद गर्दै आएको छ। यस भ्रमणमा एस–४०० मिसाइल स्क्वाड्रन आपूर्ति, एसयू–३०एमकेआई विमान अपग्रेड, र नयाँ एसयू–५७ फाइटर जेट खरिदसम्बन्धी छलफल हुने अनुमान गरिएको छ।

ऊर्जा क्षेत्रमा पनि दुवै देशको साझेदारी महत्त्वपूर्ण छ। भारतले तमिलनाडुमा रुसी सहयोगमा निर्मित परमाणु ऊर्जा केन्द्र सञ्चालन गर्दै आएको छ। पुटिनको भ्रमणमा ऊर्जा क्षेत्रको सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

युक्रेन–रुस युद्धको पृष्ठभूमिमा भारतले शान्तिपूर्ण समाधानको समर्थन गरेको छ। पुटिनको भारत भ्रमण यस सन्दर्भमा पनि महत्वपूर्ण मानिन्छ, तर भारतले रुसमाथि प्रत्यक्ष निन्दा गरेको छैन।

तपाईको प्रतिक्रिया