आइपिएल अनिश्चितकालका लागि स्थगित

नयाँदिल्ली, वैशाख २६ गते । भारतीय प्रिमियर लिग (आइपिएल) भारत र पाकिस्तान बीचको बढ्दो सीमा तनावका कारण अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार जानकारी दिएका छन्।

धर्मशालामा बिहीबार भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले आइपिएलको आगामी खेल स्थगित गर्ने निर्णय लिएका हुन्। धर्मशाला जम्मू सहरबाट लगभग २०० किलोमिटरको दुरीमा स्थित छ, जहाँ केही घण्टाअघि विस्फोट भएको थियो।

पाँच पटकको विजेता चेन्नई सुपर किङ्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !” यस पोस्टमा सशस्त्र सेनाको तस्बिर समावेश गरिएको छ र लेखिएको छ, “राष्ट्र पहिले, अन्य सबै कुरा पछि।”

आइपिएलको १६ औं संस्करण २२ मार्चमा सुरु भएको थियो र यसमा विश्वभरका क्रिकेट स्टारहरू सहभागी छन्। यो प्रतियोगिता विश्वभरका क्रिकेट प्रेमीहरूको ध्यान आकर्षित गर्ने सबैभन्दा ठूलो खेल हो। लखनऊ सुपर जायन्ट्सको रोयल च्यालेन्जर्स बेङ्ग्लुरु विरुद्धको खेल शुक्रबारको तालिकामा थियो। फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुन लागेको थियो।

विदेशी क्रिकेट स्टारहरूको सूचीमा अस्ट्रेलियाका प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, ट्राभिस हेड र मिच मार्श जस्ता खेलाडीहरू रहेका छन्। पूर्व कप्तान रिकी पोन्टिङले पञ्जाबलाई प्रशिक्षण दिइरहनुभएको छ।

क्रिकेट अस्ट्रेलियाले शुक्रबार एक वक्तव्य जारी गर्दै भनेको छ, “हामी पाकिस्तान र भारतमा स्थिति नजिकबाट निगरानी गर्दै छौँ र त्यहाँ रहेका हाम्रा खेलाडी र सहयोगी कर्मचारीहरूसँग सञ्चार कायम गरिरहेका छौँ।”

पाकिस्तान क्रिकेटले आफ्नो टी२० लिगका बाँकी खेलहरू सुरक्षाको कारण संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ।

भारत र पाकिस्तानले १९४७ मा स्वतन्त्रता प्राप्त गरेपछि काश्मीरको विवादलाई लिएर तीन पूर्ण युद्ध लडेका छन्। काश्मीर एक विवादित क्षेत्र हो, जसमा दुवै देशको पूर्ण दाबी छ, तर छुट्टाछुट्टै भागहरूमा प्रशासन चलाइरहेका छन्।

भारतले काश्मीरमा भएको घातक आक्रमणको प्रतिकारस्वरुप बुधबार मिसाइल प्रहार गरेको थियो, जसका लागि भारतले पाकिस्तानलाई दोषी ठहराएको छ भने पाकिस्तानले यसमा संलग्नता अस्वीकार गरेको छ।

दक्षिण एसियाली यी दुई छिमेकी देशहरू बीचको सीमा विवादका कारण बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ४८ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया