अस्थिरताको चाहना जतिसुकै भए पनि गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहन्छ :प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूलाई मुलुकमा अस्थिरता ल्याउने प्रयासमा लागेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अस्थिरताको इच्छा जतिसुकै भए पनि वर्तमान सत्ता गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले राजनीतिक तथा नीतिगत स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई सुधार्ने उद्देश्यले प्रमुख दुई दलको सहकार्यमा र अन्य दलहरूको समर्थनमा वर्तमान सरकार गठन भएको बताए। लोकतन्त्रका लागि लडेका र संघर्ष गरेका शक्तिहरू संसद्मा रहेको उल्लेख गर्दै उनले वर्तमान प्रणाली आफूलाई जीवनसरह प्रिय रहेको धारणा राखे।

प्रधानमन्त्रीले संसद्‌मा जनतालाई केन्द्रमा राखेर काम गर्नुको सट्टा अनावश्यक विवाद र भ्रामक प्रचारमार्फत सदनलाई ‘सोसल मिडिया कन्टेन्ट’ उत्पादन गर्ने थलो बनाउने प्रवृत्ति देखिएकोप्रति चिन्ता व्यक्त गरे। जनमुखी कार्यको मूल्याङ्कन हुनुपर्ने बेला उल्टो दिशामा बहस मोड्ने प्रयास भइरहेको उनले बताए।

सहकारी घोटाला प्रकरणमा अदालतबाट थुनामा पठाइएका दर्जनौँ व्यक्तिलाई उदाहरण दिँदै उनले कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउनु गलत भएको जिकिर गरे। स्वतन्त्र न्यायालयको निर्णयमा सरकारको कुनै हस्तक्षेप नरहेको स्पष्ट पार्दै उनले कानुनी प्रक्रियाबाटै न्याय सुनिश्चित हुने बताए।

प्रधानमन्त्री ओलीले भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएका र कानुनी रूपमा विवादास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सम्पूर्ण विदेश जाने नेपालीहरूलाई ‘बेचिएको’ भन्ने झूटो प्रचार गरेर भावनात्मक भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए। यस्तो प्रवृत्तिले देश र जनताको हितभन्दा व्यक्तिगत स्वार्थकै प्रतिबिम्ब देखाएको उनको भनाइ थियो।

त्यसैगरी, प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकास, समृद्धि र जनकल्याणका क्षेत्रमा अघि बढिरहेको जानकारी गराए। “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्यमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

अन्त्यमा, बहुविवाहलाई कानुनी मान्यता दिने कुनै तयारी नरहेको स्पष्ट पार्दै उनले यस्तो हल्लामा नपर्न नागरिकहरूलाई आग्रह गरे। देशको समृद्धिका लागि सबै शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको जोड थियो।

तपाईको प्रतिक्रिया