अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युट्युब चलाउन प्रतिबन्ध

क्यानबेरा — अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहितका सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। डिसेम्बर १० देखि लागू हुने नयाँ नियमअनुसार बालबालिकाले अब युट्युबमा खाता खोली सामग्री अपलोड गर्न वा सक्रिय रुपमा सञ्चालन गर्न पाउने छैनन्।

प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सञ्चारमन्त्री एनिका वेल्सले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ नियम सार्वजनिक गरेका हुन्। सरकारले यसअघि नै फेसबुक, टिकटक, स्न्यापच्याट र एक्स (पूर्व ट्विटर) प्रयोगमा पनि १६ वर्षमुनिका प्रयोगकर्तामाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको थियो।
नयाँ नियमअनुसार बालबालिकाले उमेरअनुकूल सामग्री हेर्न भने पाउनेछन्, तर व्यक्तिगत रूपमा खाता खोल्ने, सामग्री पोस्ट गर्ने वा सामाजिक मिडिया नेटवर्क सञ्चालन गर्न पाउने छैनन्

सञ्चारमन्त्री वेल्सका अनुसार यो कदम बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न उठाइएको हो। ‘हामी आफ्ना बालबालिकालाई सुरक्षित राख्न प्रतिबद्ध छौँ,’ उनले भनिन्।

कानुन उल्लंघन गरे ५ करोड डलरसम्म जरिवाना
सरकारले तोकेको उमेरसीमा उल्लंघन गरी खाता सञ्चालन गराउने कम्पनीलाई ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

बालबालिकालाई असर गरिरहेका सामग्री
ई-सेफ्टी कमिस्नर जुली इन्मान ग्रान्टका अनुसार हालै गरिएको सर्वेक्षणमा ४० प्रतिशत बालबालिकाले सामाजिक सञ्जालमार्फत हानिकारक सामग्रीको सामना गर्नु परेको देखिएको छ।

बढ्दो प्रयोग चिन्ताको विषय
ई-सेफ्टी कमिसनको प्रतिवेदनअनुसार १३–१५ वर्षका ९५ प्रतिशत र ८–१२ वर्षका करिब १३ लाख बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्। तीमध्ये ३६ प्रतिशतले आफ्नै खाता प्रयोग गरेका थिए भने ५४ प्रतिशतले अभिभावकको खाता प्रयोग गरिरहेको पाइएको थियो।

कुरा शिक्षामूलक एपमा लागू हुने छैन
यो प्रतिबन्ध शिक्षामूलक एप, स्वास्थ्य सेवासम्बन्धी डिजिटल प्लेटफर्म वा म्यासेज आदान–प्रदान हुने सीमित सेवा तथा गेमहरूमा भने लागू नहुने बताइएको छ।

तपाईको प्रतिक्रिया