अर्थमन्त्री खनाल र जापानी राजदूत माएदाबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

काठमाडौं, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरबार स्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको वर्तमान राजनीतिक अवस्था, र जापान सरकारद्वारा प्रदान हुँदै आएको आर्थिक तथा सामाजिक सहयोगका विषयमा विस्तृत छलफल भएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अर्थमन्त्री खनालले वर्तमान सरकार विशिष्ट परिस्थितिमा गठन भएको र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने मुख्य उद्देश्य रहेको बताए। साथै, पुनर्निर्माण र आर्थिक–सामाजिक विकासका कामहरू निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

दुई पक्षबीच हाल निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजना लगायतका प्रमुख सहकार्य परियोजनाहरूको विषयमा पनि छलफल भएको थियो। साथै, कोटेश्वर चोक सुधार आयोजना र बाढी प्रभावित सिन्धुली सडक पुनःस्थापना कार्यक्रमसम्बन्धी आगामी परियोजनाहरूमा समेत विचार-विमर्श भएको जनाइएको छ।

भेटवार्तामा अर्थ सचिव घनश्याम उपाध्याय पनि उपस्थित थिए, जानकारी सहसचिव तथा प्रवक्ता टङ्कप्रसाद पाण्डेयले दिएका छन्।

तपाईको प्रतिक्रिया