अमेरिकी सहयोगको दुरुपयोग गर्नेहरूको नामसहित श्वेतपत्र जारी गर्न सांसद खतिवडाको आग्रह

काठमाडौँ — नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोगको दुरुपयोग गर्नेहरूको नामसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा बिहीबार बोल्दै सांसद खतिवडाले यस्तो अनुरोध गरेका हुन्।

उनले देशको बदनामी भएको भन्दै एनजीओ र आइएनजीओमार्फत आएको रकमको दुरुपयोग भएको आरोप पनि लगाए। सांसद खतिवडाले भने, “एनजीओ र आइएनजीओबाट आएका रकमको दुरुपयोग भएको छ, जसले सम्पूर्ण नेपाललाई बदनाम बनाएको छ। सरकारलाई यो विषयमा श्वेतपत्र जारी गर्न आवश्यक छ।” उनले अमेरिकाले गैरकानुनी रुपमा बसेका गैरआवासीय नागरिकलाई फिर्ता पठाउँदा अमानवीय व्यवहार गरेको उल्लेख गर्दै, त्यस्ता फिर्ता प्रक्रिया अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड अनुसार मात्र हुनुपर्ने बताए।

यसैबीच, ५० लाखदेखि एक करोड रुपैयाँ खर्च गरेर अमेरिका पुगेका नौ नेपाली बुधबार मात्र फिर्ता भएका थिए। उनीहरू मानव तस्करीको शिकार भएर १४ वटा देश पार गर्दै अमेरिकामा पुगेका थिए।

तपाईको प्रतिक्रिया