अमेरिकी राजदूतको स्पष्टता: “एमसीसी परियोजना अगाडि बढाउन प्रतिबद्ध छौँ”

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अन्यौलमा परेको एमसीसी परियोजना अगाडि बढाउन अमेरिका गम्भीर र सक्रिय रहेको स्पष्ट पारेका छन्। ऊर्जामन्त्री दीपक खड्कासँगको भेटमा उनले परियोजना कार्यान्वयनमा कुनै कसर बाँकी नराखिने बताए।

राजदूत थम्पसनले नेपालका ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर समर्थन रहने बताउँदै एमसीसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) परियोजना अघि बढाउन सबै सम्भव प्रयास जारी रहेको उल्लेख गरे।

भेटका क्रममा ऊर्जामन्त्री खड्काले एमसीसीअन्तर्गत अघि बढाइएका आयोजनाहरू निरन्तर अगाडि बढिरहे पनि परियोजनाको समग्र पक्ष केही समयदेखि होल्डमा रहँदा अन्यौल उत्पन्न भएको बताए। उनले अमेरिकी पक्षलाई परियोजनालाई थप गति दिन आग्रह गरे।

एमसीसी सम्झौता अनुसार, अमेरिकाले ५०० मिलियन अमेरिकी डलर र नेपालले १९७ मिलियन डलर लगानी गर्नेछ। परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल हुँदै बुटवल–नेपाल–भारत सिमाना (गोरखपुर) सम्म ४०० केभी क्षमताका प्रसारण लाइन र सम्बन्धित सबस्टेसन निर्माण गरिने योजना छ।

यस परियोजना कार्यान्वयनले नेपालमा विद्युत् प्रसारण प्रणालीको स्तरोन्नति हुनुका साथै क्षेत्रीय ऊर्जा व्यापारमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया