अमेरिका–चीनबीच ९० दिनका लागि ट्यारिफ स्थगन गर्ने सहमति, भन्सार दरमा उल्लेखनीय कटौती

काठमाडौं, वैशाख ३० – अमेरिका र चीनले आगामी ९० दिनका लागि पारस्परिक रूपमा ट्यारिफ (भन्सार) शुल्क स्थगन गर्ने सहमति गरेका छन्। सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै देशले उक्त निर्णय सार्वजनिक गरेका हुन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको वार्तापछि भन्सार शुल्कमा ११५ प्रतिशतसम्म कटौती गर्ने सहमति भएको जानकारी दिएका छन्। उनका अनुसार, मे १४ (बुधबार) देखि यो निर्णय कार्यान्वयनमा आउनेछ।

बीबीसीका अनुसार, चीनको वाणिज्य मन्त्रालयले पनि अप्रिल २ देखि अमेरिकाविरुद्ध लगाइएको सबै प्रकारका जवाफि ट्यारिफहरू निलम्बन गरिएको पुष्टि गरेको छ।

हालसम्म अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत र चीनले अमेरिकाबाट आउने वस्तुहरूमा १२५ प्रतिशत सम्मको ट्यारिफ लगाउँदै आएको थियो।

चीनको वाणिज्य मन्त्रालयले यस कदमलाई ‘विश्वको साझा हितमा’ रहेको बताउँदै आगामी दिनमा पनि अमेरिका–चीनबीच व्यापार सहकार्यको अपेक्षा राखेको जनाएको छ।

भन्सार शुल्क स्थगनसम्बन्धी खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय मुद्राबजारमा प्रभाव परेको देखिएको छ। अमेरिकी डलरको मूल्य पाउन्ड, युरो र येनको तुलनामा बढेको छ भने चिनियाँ युआनको मूल्य समेत डलरसँग तुलनामा बलियो बनेको छ।

तपाईको प्रतिक्रिया