अमेरिकाबाट चार महिनामा १२६ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको चार महिनामा १२६ जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरेको छ। सन् २०२५ को जनवरी २० देखि मे १९ सम्मको अवधिमा उनीहरूलाई अमेरिकाबाट फिर्ता पठाइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत अञ्जन न्यौपानेका अनुसार, “पछिल्ला चार महिनामा १२६ नेपाली डिपोर्ट भएर नेपाल फर्किएका छन्। उनीहरूलाई अमेरिकी आप्रवासन कानुन उल्लंघन गरेको अभियोगमा निष्कासन गरिएको हो।”

सन् २०२५ को जनवरी २० मा ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ लिएका थिए। त्यसयता छोटो अवधिमा नै अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ।

अध्यागमन कार्यालयका तथ्यांक अनुसार, पछिल्ला चार महिनामा औसतमा हरेक महिना ३० जना भन्दा बढी नेपालीलाई डिपोर्ट गरिएको छ। जेठ ५ गते मात्र दुई जना नेपाली अमेरिकाबाट डिपोर्ट भई नेपाल फर्किएका थिए, भने त्यसअघि वैशाख ३० गते तीन जना फिर्ता आएका थिए।

वरिष्ठ अधिकृत न्यौपानेले जानकारी दिएअनुसार, “डिपोर्ट हुने नेपालीहरू काठमाडौं आइपुग्नु एक दिनअघि अमेरिकास्थित नेपाली दूतावासबाट सूचना प्राप्त हुन्छ। विमानस्थलमा उनीहरू ओर्लिएपछि अध्यागमनले उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाउने गर्दछ।”

प्रायः अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरू डिपोर्टको सूचीमा पर्ने गरेका छन्। यस्ता व्यक्तिहरूसँग प्रहरीले सोधपुछ गरी मानव तस्करीमा संलग्न व्यक्तिहरूबारे जानकारी संकलन गर्ने गर्दछ।

डिपोर्ट गरिएकाहरूलाई अमेरिकी प्रशासनले भिसा बिना बसोबास गरेको, गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेको वा बस्ने उद्देश्य नै गलत रहेको आरोप लगाएको छ।

राष्ट्रपति निर्वाचनका क्रममा ट्रम्पले आप्रवासी नीतिमा कडाइ गर्ने घोषणा गरेका थिए। राष्ट्रपति बनेपछि उनले अवैध आप्रवासीलाई निष्कासन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

त्यसपश्चात अमेरिकी प्रशासनले १,३६५ नेपालीसहित करिब १४ लाख ४५ हजार आप्रवासीको सूची सार्वजनिक गरेको थियो, जसमा अवैध बसोबासको आरोप थियो।

तुलनात्मक रूपमा हेर्दा, सन् २०२४ मा अमेरिकाबाट ३५ जना नेपाली मात्र डिपोर्ट भएका थिए। जो बाइडेनको कार्यकालमा एक वर्षमा जुन संख्यामा नेपाली डिपोर्ट भएका थिए, ट्रम्पको पछिल्लो कार्यकालमा त्यही संख्यामा झण्डै प्रत्येक महिना नेपाली डिपोर्ट भइरहेका छन्।

तपाईको प्रतिक्रिया