अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले सम्मान गर्ने

काठमाडौं — सरकारले अन्तर्राष्ट्रिय भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको असार ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार कुल २७ जनालाई पुरस्कार र सम्मान प्रदान गर्न स्वीकृति दिइएको हो। साथै, बैठकले राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्नुका साथै तथ्याङ्क प्रणाली सुदृढ गर्न पाँचवर्षे राष्ट्रिय रणनीति पारित गर्ने निर्णय पनि गरेको छ।

बैठकले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ पनि स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त आदेश पारित गरिएको प्रवक्ता गुरुङले जानकारी दिए।

यससँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी र कुमार न्यौपानेको कार्यकाल थप गरिएको छ। नेपाली सेनातर्फ दुई जना महासेनानीको कार्यकाल लम्ब्याउने, एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने तथा दुई जना उपरथीको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

भिजिट भिसा प्रकरणसम्बन्धी छानबिनका लागि सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा विभिन्न मन्त्रालयका सह–सचिवहरू सदस्य रहेका छन्। प्रवक्ता गुरुङले यो समितिले स्वतन्त्र र प्रभावकारी ढंगले अनुसन्धान गर्न सक्ने वातावरण बनाउन सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया