अघिल्ला निर्वाचनहरूमा राजनीतिक समीकरणमा त्रुटि भएको प्रचण्डको स्वीकारोक्ति, नयाँ क्रान्तिको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्ला निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग चुनावी गठबन्धन गर्दा गल्ती भएको स्वीकार गरेका छन्।

कर्णाली प्रदेशमा आयोजित वाईसीएल नेपालको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचन (२०८४) मा माओवादी केन्द्रलाई पहिलो दल बनाउनु नै पार्टीको मुख्य लक्ष्य रहेको बताए। माओवादी बलियो भए मात्रै जनता बलियो हुने दाबी गर्दै उनले पार्टीलाई अब आत्मनिर्भर र संगठित बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

“सायद हामीले कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि गरेछौँ,” उनले भने, “इमान्दारीपूर्वक खुरुखुरु भोट हाल्ने हामी जनता पर्‍यौँ, तर उनीहरूजस्तो बेइमान बन्न सकेनौँ। अब जब हामी आफ्नै खुट्टामा उभिन थालेका छौँ, हाम्रो यात्रा उकालो लाग्न थालेको छ।”

सम्मेलनमा प्रचण्डले आफूले फेरि एकपटक नयाँ समाजवादी क्रान्तिको नेतृत्व गर्ने संकल्प लिएको बताएका छन्। “७० वर्षको उमेरमा पनि म नयाँ क्रान्तिको सुरुआत गर्ने सोचमा छु,” उनको भनाइ थियो।

वाईसीएललाई ‘स्वयंसेवक सेनाको रूपमा’ पुनः सक्रिय गराउने लक्ष्यसहित उनले कार्यकर्तालाई गाउँ–घर, टोल–टोलमा पुगेर राजावादी गतिविधिहरूको प्रतिकार गर्न आह्वान गरे।

तपाईको प्रतिक्रिया