ज्येष्ठ नागरिकलाई सम्मान गरौँ : प्रम

काठमाडौँ, असोज १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ३०औंँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक एउटा सिङ्गो विश्वविद्यालय नै रहेको उल्लेख गर्दै परम्परागत ज्ञान, सीपका पनि खानी रहेको बताउनुभयो ।
“हामीले ज्येष्ठ नागरिकबाट सिक्नुपर्छ । उहाँहरूसँग भूगोलको ज्ञान छ, प्रणालीको ज्ञान छ । प्रशासन, अर्थतन्त्र, इतिहास, परम्परा संस्कृतिको ज्ञान छ अथवा ज्ञानको विविधताको ठूलो भण्डार हुन् ज्येष्ठ नागरिक”, उहाँले भन्नुभयो ।
उहाँहरूको ज्ञान हस्तान्तरण गर्ने कुरामा सक्रिय कसरी राख्ने, त्यसको कदर राज्यले, समाजले कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । नेपाली समाज र संस्कारको पुस्तान्तरण पनि ज्येष्ठ नागरिककै देन भएको उहाँको भनाइ छ । बालबालिकालाई मात्रै सिकाउने होइन, सबै उमेर समूहलाई सिकाउन सक्ने महाविद्यालयका रूपमा ज्येष्ठ नागरिक रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
सरकारले ज्येष्ठ नागरिकको जीवन सहज बनाउन विविध प्रयास गरिरहेको उहाँले औँल्याउनुभयो । सरकारले अस्पतालमा उपचारमा दिनुपर्ने सबै खालका सुविधा बढाउँदै लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो । यस वर्ष ज्येष्ठ नागरिक विरुद्धको दुव्र्यवहार नारासहित यो दिवस मनाइएको हो । प्रधानमन्त्री ओलीले उहाँहरूप्रति हुने दुव्र्यवहारविरुद्ध आवाज बुलन्द पार्नुपर्ने बताउनुभयो ।

“ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार असभ्यता हो । मानिसले गर्न नमिल्ने, गर्न नहुने र अत्यन्तै असभ्य व्यवहार हो”, प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई दुव्र्यवहार नगर्न सुझाउनुभयो ।
नेपालमा विभिन्न सङ्घसंस्था, मन्त्रालयसहित विभिन्न निकाय, गैरसरकारी तथा परोपकारी संस्था, मानव सेवामा समर्पित विभिन्न संस्था ज्येष्ठ नागरिकको पक्षमा काम गरिरहेकोे भन्दै उहाँले त्यस कार्यको सराहना गर्नुभयो ।
विश्व एकल परिवारतर्फ केन्द्रित रहे पनि नेपाली समाज चार÷पाँच पुस्ता एकै ठाउँमा स्नेहपूर्ण ढङ्गले पारस्परिक सहयोगका साथ रमाउने गरेको चर्चा गर्नुभयो । नेपालमा नाति नातिना, पनाती पनातिना, छोराछोरी, काकाकाकी, भतिजा भतिजी, हजुरबुबा, हजुरआमा सबै एकै ठाउँमा बसेका हुन्छन् । “एकअर्कामा आत्मीयता वास्तवमा एउटा परिवारको, आफन्तको नाताको त्यो सम्बन्ध, सभ्यता हो,” उहाँले थप्नुभयो ।

अहिले केही बाह्य हावाबाट प्रभावित भएर संयुक्त परिवारको गौरवपूर्ण परम्पराबाट पर नहट्न उहाँले आग्रह गर्नुभयो । छोराछोरीले आमाबाबुलाई बूढाबूढी भएपछि ज्येष्ठ नागरिक, उमेर बढ्दै गएपछि बोझ सम्झने, हेला गर्ने प्रवृत्ति देखिन थालेकोमा दुःख व्यक्त गर्नुभयो । “हामी जे छौंँ, आमाबुबाका कारणले छाँैं, त्यसकारण आमाबुबालाई हेला नगरौँ”, प्रधानमन्त्रीले अनुरोध गर्नुभयो ।
नेपालको संविधानमै ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा प्राप्त गर्ने, सुविधा प्राप्त गर्ने कुरा मौलिक हकमा व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक ऐनले उहाँहरूले प्राप्त गर्ने सम्मान, सेवा र सुविधा तोकेको छ । अहिले ज्येष्ठ नागरिक भत्ता तीन हजार रुपियाँ पुगेको र यसलाई आफ्नै कार्यकालमा पाँच हजार रुपियाँ पु¥याउने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । अहिलेको अवस्थामा ज्येष्ठ नागरिकलाई भत्ता लिन जान असहज हुने भएकाले घरमै वा समुदायमै पु¥याउने व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो । गोरखापत्र

तपाईको प्रतिक्रिया