कोरोनाभाइरस :इटलीको लोम्बर्डी क्षेत्रमा कडा नियम घोषणा

बीबीसी-  इटलीको लोम्बर्डी क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न कडा नियमहरू लगाइएको छ।

शनिवार अबेर घोषणा गरिएका नयाँ नियम अनुसार समूहमा वा एक्लै पनि घर बाहिर खेल्न र शारीरिक व्यायाम गर्न प्रतिबन्ध लगाइएको छ। सामानहरू किन्ने मशिन प्रयोगमा पनि रोक लगाइएको छ।

शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। गत महिना कोरोना सङ्क्रमण सुरु भएयता ४,८२५ जनाको मृत्यु भयो जुन विश्वकै सबभन्दा धेरै हो।

लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३,०९५ को मृत्यु भएको छ।

यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन्।

‘अति आवश्यक’ सामग्रीका पसलहरू बाहेक सबै व्यवसायहरू बन्द गर्न भनिएको छ। अस्पताल, सडक र रेलमार्ग बाहेक कुनै पनि निर्माण सम्बन्धी काममा रोक लगाइएको छ।

लोम्बर्डीमा ८ मार्चदेखि ‘लकडाउन’ गरिएको छ। र सरकारले त्यो क्षेत्रमा सबैभन्दा पहिले परीणाम देखा पर्ने आशा राखेको छ।

शनिवार इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै ‘आवश्यक नहुने’ व्यवसाय बन्द गर्न आदेश दिए। तर उनले कुन व्यवसाय अति आवश्यक हो भन्ने खुलाएनन्।

सुपरमार्केट, औषधीपसल, हुलाक र ब्याङ्कहरू खुला रहनेछन् भने सार्वजनिक यातायात पनि सञ्चालन पनि निरन्तर जारी रहनेछ।

देशका नाममा टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले भने, “हामी मुलुकको उत्पादन इन्जिनको गति धीमा बनाउने छौँ तर पुरै बन्द भने गर्ने छैनौँ।”

कोन्टेले परिस्थितिलाई “युद्धपछिको हाम्रो समयको सबैभन्दा कठिन सङ्कट” भनेर व्याख्या गरे।

विभिन्न समयमा विभिन्न कडाइ गरिएपनि इटलीमा नयाँ सङ्क्रमण र मृत्यु हुने क्रम बढ्दो छ।

विश्वव्यापी रूपमा २२०,००० जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको र ९००० भन्दा बढीको मृत्यु भइसकेको छ।

अन्यत्र के भइरहेको छ?

स्पेनको स्वास्थ्य मन्त्रालयले नयाँ मृत्यु ३२%ले बढेर कोभिड-१९ कारण १,३२६को मृत्यु भएको पुष्टि गरेको छ। यो युरोपमा इटलीपछिको दोस्रो ठूलो नम्बर हो।

आइफल टावर

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शनिवार राती गरेको पत्रकार सम्मेलनमा ‘सबभन्दा नराम्रो क्षण आउन बाँकी रहेको’ र ‘अब असाध्यै कठिन दिनहरू आउने’ बताए।

सरकारले ४ करोड ६० लाख मानिस लक्षित ‘लकडाउन’ घोषणा गरेको छ।

उनीहरू अति आवश्यक काम- खाद्यान्न किनमेल र स्वास्थ्य सम्बन्धी कारणका लागि मात्र वा कुकुर हिँडाउनका लागि मात्र घर छोड्न पाउने छन्।

विश्वका कैयौँ नेताहरू र राजनीतिकर्मीले आफ्ना देशका नागरिकलाई नियम पालना गर्न आग्रह गरेका छन्।

ब्रिटेनमा मुश्किल पर्ने चेतावनी

प्रधानमन्त्री बोरिस जोन्सनले ब्रिटेनमा नागरिकहरूले तीब्र गतिमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमणको गति कम गर्न काम गरेनन् भने राष्ट्रिय स्वास्थ सेवा एनएचएस ‘मुश्किल’मा पर्ने बताए।

उनले मानिसहरूलाई ‘साहसि र संयुक्त राष्ट्रिय प्रयास’मा सहभागी हुन र सामाजिक दूरी राख्नका लागि दिइएको सुझाव मानिदिन आग्रह गरे।

स्कटल्यान्डका ग्रामीण अर्थतन्त्र तथा पर्यटन मन्त्री फेर्गस इविङले यूकेभरका मानिसहरू प्रकोपबाट शान्ति खोज्दै माथितिर उक्लिन थालेको भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि मानिसहरूलाई स्कटल्यान्डका उच्च भूभाग तर्फ यात्रा नगर्न आग्रह गरे।

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभीयर भेरनले सामाजिक दूरी कायम गर्न दिइएको आदेश उल्लङ्घन गर्नेहरूतर्फ इङ्गित गर्दै उनीहरूलाई ‘खतरनाक’ र ‘गैर जिम्मेबार’ भने।

फ्रान्समा १२५०० भन्दा बढीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ र शनिवार मृत्युहुनेको सङ्ख्या शनिवार सम्ममा ५६२ पुगेको छ।

न्यू योर्कका गभर्नर एन्ड्र्यु क्योमोले युवाहरूप्रति प्रहार गर्दै उनीहरूले समूहमा जमघट नगर्न दिइएका आदेशहरू नजरअन्दाज गरेको बताए।

उनले ‘के भइरहेको छ भन्ने आँफै हेर्न’ पार्कको भ्रमण गर्ने योजना बनाएको बताए।

उनले यो आम स्वास्थ्यको मुद्दा भएकाले अरू मानिसको र युवाहरू आँफैको स्वास्थ्य पनि खतरामा पार्न नपाउने बताए।

तपाईको प्रतिक्रिया