सानेपामा देउवानिकट ६ नेताको छलफल: शक्ति विस्तार र महाधिवेशन रणनीति मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट नेताहरूको आइतबार सानेपास्थित नेता गोपालमान श्रेष्ठको निवासमा विशेष जमघट भएको छ। ६ जना पूर्वपदाधिकारी र शीर्ष नेताहरू सहभागी उक्त छलफलमा पार्टीभित्रको आन्तरिक व्यवस्थापन, वर्तमान सत्ता गठबन्धन, र १५ औं महाधिवेशनलाई लक्षित गरी शक्ति सन्तुलन र विस्तारका रणनीति तय गरिएको बताइएको छ।

गोपालमान श्रेष्ठको निमन्त्रणामा भएको भेटमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीहरू शशांक कोइराला र कृष्णप्रसाद सिटौला, तथा प्रवक्ता प्रकाशशरण महत सहभागी थिए। पछिल्ला यस्ता बैठकहरूमा सहभागी हुँदै आएका विजयकुमार गच्छदार भने अनुपस्थित रहे।

श्रेष्ठका अनुसार छलफलमा पार्टीको क्रियाशील सदस्यता नवीकरणमा देखिएको ढिलाइ, गभर्नर नियुक्तिमा जारी अन्योल, वर्तमान सरकारले लिएको नीति तथा कार्यक्रमहरूबारे मूल्यांकन, र आमजनताको निराशा सम्बोधनका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

महाधिवेशनलाई लक्षित एकता प्रयास

बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको आन्तरिक एकता कायम राख्दै सभापति देउवा नेतृत्वलाई बलियो बनाउने र १५ औं महाधिवेशनसम्म समूहलाई एकढिक्का बनाउने प्रयास भइरहेको बताएका छन्। गोपालमान श्रेष्ठका अनुसार नेताहरू प्रदेश–प्रदेशमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ सुदृढ गर्ने उद्देश्यसहित सार्वजनिक कार्यक्रम गर्ने रणनीतिमा पनि छन्।

‘पहिले काठमाडौंमा कार्यक्रम गरेर त्यसपछि सातै प्रदेशमा लैजाने सोच छ,’ श्रेष्ठले भने। उनका अनुसार विगतमा छुटेका नेताहरूलाई पनि समेटेर एकीकृत मोर्चा बनाएर अघि बढ्ने प्रयास भइरहेको छ।

सभापति उम्मेदवारीबारे खुला निर्णय नभए पनि आकांक्षा स्पष्ट

देउवा समूहभित्रका ६ नेताहरू सबै आगामी महाधिवेशनमा सभापति पदका आकांक्षी हुन्। हालसम्म एउटै उम्मेदवार तय गर्न छलफल पुगेको छैन, तर आपसी एकता कायम राख्दै महाधिवेशनसम्म साझा रणनीति बनाउने प्रयास तीव्र बनाइएको छ। यद्यपि विगतमा यस्तै छलफलमा सहभागी भएका नेताहरू अन्ततः सभापति पदका प्रतिस्पर्धी बनेको इतिहास पनि रहेको छ।

कोइराला–गगन प्रभाव र देउवा समूहको सचेतता

शेखर कोइराला र गगन थापाको महाधिवेशन केन्द्रीत गतिविधि तीव्र बनेपछि देउवा समूह सक्रिय बनेको हो। केही देउवा निकट नेताहरू कोइराला–थापा समूहतिर झुक्न थालेको आभास पाएपछि देउवा पक्षले बैठक र देश दौडाहालाई तीव्रता दिएको बुझिएको छ।

सभापति देउवाको भूमिका

देउवाले सभापतिका लागि उत्तराधिकारी तोक्ने विषयमा अहिलेसम्म मौनता कायम राखेका छन्। साथै, महाधिवेशनअघि प्रधानमन्त्री बन्ने सोच बनाए पनि उनले पार्टीको कार्यकाल विधानअनुसार एक वर्ष थप गर्न सकिने संकेत दिएका छन्। एमालेसँग भएको सहमति अनुसार देउवा २०८३ असारपछि प्रधानमन्त्री बन्ने सम्भावना छ भने कार्यकाल थप भएमा उनी २०८३ मंसिरसम्म सभापति रहनेछन्।

तपाईको प्रतिक्रिया