राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड

काठमाडौं, १८ जेठ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी प्रवृत्ति पुनः सक्रिय भइरहेको टिप्पणी गरेका छन्। पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले राजावादीहरूले आर्थिक स्रोतको प्रयोग गर्दै भाडाका व्यक्तिहरू परिचालन गरिरहेको आरोप लगाए।

अध्यक्ष प्रचण्डले हाल राजावादीहरू विभिन्न माध्यमबाट ठूलो मात्रामा रकम संकलन गरी त्यसैको भरमा गतिविधि बढाइरहेको बताए। “उनीहरूले पैसाको भरमा मान्छे जम्मा गरेर वातावरण अशान्त बनाउन खोजिरहेका छन्,” प्रचण्डले सम्मेलनमा भने, “भाडाका मानिस ल्याएर उफार्ने, जाँड खुवाएर उत्तेजित बनाउने काम भइरहेका छन्।”

उनले नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गर्दै भने, “हामी आक्रमण गर्ने पक्षमा होइनौं, तर यदि हामीमाथि आक्रमण भयो भने त्यसको जवाफ दिन तयार हुनुपर्छ।”

प्रचण्डले अवस्था थप जटिल भएमा आत्मरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता पनि औंल्याए। “यदि उनीहरू आइलाग्छन् भने, इँटको जवाफ पत्थरले दिन तयार रहनुपर्छ,” उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया